– बिन्दा आचार्य
संसार यस्तो होस‘ ! जहाँ शरीरको रुप-रंग-आकारका आधारमा जात-नश्ल,धनी-गरिव,उच्च-निच भनी बर्ग छुट्याई कसै माथी भेदभाव र फरक ब्यवहार नहोस् । अरुको दुःख र पिडाको जगमा कसैले आफ्नो खुसीको महल नठड्याओस् । शरीरको पहिचानलाई भजाएर पेशा बृत्तिको खुट्किलो चढ्नु नपरोस् । अरुको भाग खोसेर जिविकोपार्जन गर्नु नपरोस् । बलशालीको मिचाहा प्रबृतिले निर्बल अझ दुर्वल नबनोस् ।
टाठा-बाठा, धुर्त-चतुर, लोभी र पापीको जालझेलमा कोही पनि अपहेलित र अपमानित हुनु नपरोस् । कसैको हिंसंकस्वभावको कारणले कोही हिंसाको शिकार बन्नु नपरोस् । शरीरको बनावट, मनुष्यको स्वभाव, सामाजिक- पारिवारिक संरचना, ब्यक्तिको उपलब्धी र सफलता जस्ता कुरामा समाजले बनाएको मानक अनुरुप भएन भनेर कसै माथि प्रहार नहोस् र त्यो प्रहारबाट कोही पनि प्रताडित हुनु नपरोस् । पति र पत्नी बीच,छोरा र छोरी बीच, हाकिम र कारिन्दा बीच, साथी-भाई बीच,सहकर्मी बीच, समकक्षी बीच, आय-उपलब्धी बीच, क्षमता र योग्यता बीच, उन्नति र प्रगति बीचमा तुलना गरेर कसैलाई उच्चता त कसैलाई निच्चता देखाउने काम नहोस् ।
कसैलाई दुस्ख, पिडा नदिई, कसैलाई हानी नोक्सानी नपुर्याई संसारको सर्बोत्कृष्ठ सुखभोग गर्न पाईन्छ की पाईन्न ? के संसार यस्तो बन्न सक्छ ? अन्धभक्त बनेर कसैको अति प्रशंसा गरी देवत्व करण गर्ने र घोर विरोधी बनेर कठोर आलोचना गरी दानवीकरण गर्ने प्रबृतिले स्वस्थ्य समाजको निर्माण गर्दैन । तर हामी कहाँ कसैले केही काम गर्यो भने सरकार वा अरुलाई सत्तोसराप गर्दै, दोष लगाउदै, गाली गर्दै, असन्तुष्टि र गुनासाका झटारो हान्दै र आफूले त्यो काम गरेकोमा आत्म प्रशंसा र अभिमानमा फुलेर गरेको देखिन्छ।देशमा रहदा काम प्रति, परिवार प्रति, संस्था प्रति, सरकार प्रति उदासिन रहने ब्यक्ति विदेश पुगेर आफ्ना नैराश्यता र आक्रोस पोख्दछ । राष्ट्रसेवा गरिरहेका राजनीतिज्ञलाई, राष्ट्रसेवकलाईर स्वदेशबासीलाई विदेशिएको एक नेपालीलेआमचकारी गाली गर्दछ ।
सके स्वदेशमा नै बसेर देशको सेवा गर्नु उत्तम, नसके आफ्ना आक्रोसपूर्ण अभिब्यक्ति नदिएर समाज विषाक्त हुनबाट बचाउनु बुद्धिमानी हुन्छ । श्रीमद् भगवत गीतामा योगेश्वर श्रीकृष्ण सन्देश दिनुहुन्छ- हे भक्त तिमीले मलाई जुन रुपमा भज्दछौं,त्यही रुपमा पाउनेछौं । म त्यसै रुपमा उपस्थित हुनेछु । समाजमा विष पनि छ अमृत पनि छ । अब विष ओकल्ने की अमृत छर्ने आफ्नैहातमा हुन्छ । छनौटको स्वतन्त्रताको सुविधा छ । झिगां बनेर फोहोर खोज्दै हिड्ने, झी’.. झी”’गरेर अरुलाई झर्कोलाग्दो बनाउने की ! मौरी बनेर फूलको सुगन्ध पछ्याउँदै रस माधुरी प्राप्त गर्ने र मिठो मह बनाउने भन्ने कुरा आफ्नै हातमा छ । यो संसारमा सबै थोक उपलब्ध छ जे खोज्दछौं, त्यो पाउँछौं ।
परपिडनम् हावी भएको समाजमा तपाँई खुसी देखिनु भयो भने तपाँई माथी प्रश्नका झटारा लाग्छन । किन खुसी भैरहेको छ ? पक्कै केही त हुनुपर्छ भनेर संदेह र अनुमानहरु गरिन्छ।दुस्ख देखाउने, ललानी गाउने र दुस्खको अभिनय गर्नेले सहानुभूति पाउँछ । यदि कसैलाईकुनै मानसिक समस्या भएमा त्यसमाथी अझ प्रहार गरिन्छ । हाँसो र खिल्ली उडाईन्छ, ठिस वा खुस्केको भनिन्छ । प्रेमको भन्दा घृणाको, सुखको भन्दा दुस्खकोर सुकर्मको भन्दा कुकर्मको,सहयोगको भन्दा आक्रोस र बदलाको कथा हिट हुन्छ । विकृति र अपराधका घटना रुचिपूर्वक पढिन्छ, रातारात भाईरल बन्छ । गरम मर मसला हालेको खाने बानी परेको जिब्रोलाई सादा खाना कहा मन पर्ला । पद, पैसा र अरु माथी हावी हुन सक्ने पावर बढाउने काममा अर्थ देख्ने र अन्य कामलाई ब्यर्थ देख्ने जमात पनि छ ।
परपिडनम् मौलाएको समाजमा तपाईसँग जे छैन, त्यै पटक पटक कोट्याईन्छ । उदाहरणका लागि तपाईको शरीरमा अगंहरु सग्ला छैनन, विवाह भएको छैन, छोराछोरीभएका छैनन,जागिर छैन, सोचेजस्तो सफलता प्राप्त भएको छैन, धन सम्पत्ति वा घरजग्गा जमिन छैन, असफलता हात लागि रहेको छ भने तपाईलाई परपिडनम समाजको सदस्यले कोट्याइ कोट्याई त्यही कुरा भनिरहिन्छ । यदि कसैको मानसिक सामर्थ्य कमजोर रहेछ भने त्यही कुराले त्यो मानिसले मानसिक सन्तुलन गुमाउन सक्छ ।
मानौ तपाईको कपाल झरेको छ, तालु खुईलिएको छ भने उसले तपाईलाई भेट्ने वा देख्ने वित्तिकै तालुको प्रसङ्ग उठाईहाल्छ ।यी यस्ता कुराहरु झिनामसिना लाग्न सक्छन तर एउटा ब्यक्तिको आत्मविश्वास र आत्मवल माथी उठ्ने वा तल गिर्ने अवस्था यस्तै स(साना कुरामा अल्झिएको हुन्छ भन्ने कुरालाई भुल्नु हुँदैन । अर्को कुरा जसले थाहापाई या थाहा नपाई यस्तो ब्यबहार गर्दछ अवश्य नै परपिडनम् स्वभाव हो । अवचेतनमा बसेको परपिडनममा रमाउने वा पिडितले गर्ने प्रतिकृयाबाट आनन्द लिने स्वभावले काम गरेको हुन् सक्छ । कहाँनेर घोच्दा तपाईलाई बढी चोट पर्छ,त्यही प्रहारगर्दछ । तपाई दुस्खि, पिडित हुनु भयो भने तपाईको पिडामा परपिडनम चरित्र खुसी हुन्छ । कसैलाई हानीनोक्सानी नपुर्याई एउटा मानिस खुसी हुदा अर्को मानिसलाई के घाटा हुन्छ ?
परपिडनम् समाजमा मानिसले यस्तो हुनुपर्छ, उस्तो हुनुपर्ने भन्न जानेको हुन्छ तर आफूले गर्न जानेको हुन्न् । घरको बिग्रेको धाराको टुटी बनाउन जान्दैन, टोलको चियापसलमा बसेर देश कसरी बनाउने गफ चुट्दछ । नकारात्मक सोच राख्ने नागरिक भएको देशमा नेपाल सबैभन्दा बढी नकारात्मक राख्नेमा छैटौंमा पर्दछौं । मुखमा एउटा सानो फोका आयो भने जिब्रो पटक पटक त्यही पुगिरहन्छ। अजगंको शरीरमा एउटा सानो फोका, एउटा सानो काडा कत्ति बिझाउँछ । कसरी आम नेपालीको छवि बनाउने हो, त्यही छविले छाप छोड्दछ । हाम्रा बर्तमान पुस्ता र भविष्यका सन्ततीलाई क्रोध, आक्रोस, नैराश्यता, गुनासा, आशा र अपेक्षाको भुमरीमा पार्ने पो हौ की !
हामीमा कत्तिको परपिडनम् स्वभाव छ,एकपटक आत्म(मन्थन गरौं।के मलाई अरुको सफलता देखि जलन हुन्छ ? के म आफ्ना ईच्छ्या आकांक्षा पुरा गर्न अरुलाई जुनसुकै प्रकारको कष्ट र पिडा दिन पछि पर्दिन ? के मेरो मन कुनै ब्यक्ति वा विषय प्रतिको ईष्या, राग र द्धेषले उद्येलित भईरहन्छ ? के म आफ्नो असफलतामा त्यति दुःखीहुदिन जती अरुको सफलतामा हुन्छु । के मलाई अरुको शेखी झार्न, तेजोबध गर्न मनपर्छ । यदि यस्तै यस्तै अनुभूति हुन्छ भने निश्चयनै पिडक पिडामा छ, समस्यामा छ, असुरक्षित महसुष गरिरहेको छ।त्यसको सजाय अरुलाई समेत भोग्न वाध्य बनाउँछ, परपिडा दिन्छ र अमूल्य मानव चोलालाई नर्कतुल्य बनाउँदछ ।
हाम्रो धर्म, संस्कृति र परम्परा बसुधैव कुटुम्बकम्,सर्वजन हितायससर्वजन सुखाय,परोपकार पुण्यायस पापाय परपिडनमको मूलमन्त्रमा आधारित छ । यो मूलमन्त्रमा रही हाम्रा विचार, बोली र ब्यवहारलाई शुद्धिकरण गर्नु जरुरी छ।धनको शुद्धि दानद्धारा, तनको शुद्धि स्नानद्धारा र मनको शुद्धि ध्यानद्धारा गर्नु पर्दछ भनी सन्त महात्माहरुले बताउने गरेका छन ।
सामान्य सामाजिक आचार संहिताको कुरा गर्दा कविता लेख्न पाईन्छ तर अरुलाई गाली गरेर कविता लेख्न पाईन्न । बाटोमा हिड्न पाईन्छ तर अरुलाई ढकेलेर लडाउँदै हिड्न पाईन्न । कसैलाई हानी नोक्सानी नपुर्याई आफ्नो काम गर्न पाईन्छ तर अरुलाई दोषारोपण गरेर गाली गरेर गर्न पाईन्न । विष ओकल्न पाइन्छ तर विषाक्त दाराले अरुलाई डस्न पाईदैन।सामाजिक संजालका वाचाल धुर्तहरुले विष फैलाउने काम गरिरहेका छन् । फुर्सदिला पाका मान्छेहरु, युवा पुस्ताहरुको मस्तिष्कमा विचार र अभिब्यक्तिको माध्यमद्धारा मानसिक भ्याम्पायरहरुले अतिक्रमण गरिरहेका छन। कुरो बुझ्न ढिला भैसकेको छ ।
अन्त्यमा,गालीहरु शक्तिमा परिणत भैदिए गाली खाने मान्छे उर्जाशिल बन्ने थियो, आशुहरु शब्द भैदिए उहिले काब्य बनिसक्ने थियो, विचारहरु साधना भैदिए उहिले साध्य बनिसक्थ्यो । सिद्धान्तहरु कार्यान्वयन भैदिए उहिल्यै सिद्ध बनिसक्ने थियो । आश्वासनहरु पुरा भैदिए उहिल्यै विकास भैसक्थ्यो । कल्पनाहरु यथार्थ भैदिए उहिल्यै जीवन स्वर्ग बन्ने थियो ।
प्रतिक्रिया