काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा चलाउँदैमा रास्वपा नडराउने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको बताइन् ।
उनले भनिन्, ‘रास्वपालाई तसाइदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा डराएको छैन । रविको सट्टामा सय रवि यही सदनमा प्रवेश गर्नलाई २०८४ साल कुरेर बसेका छन् ।’
सरकारले प्रतिशोध साँधेर रविलाई हिरासतमा राखेको, जिल्ला–जिल्लामा बयान भन्दै घुमाउने काम गरेको उनले बताइन् । उनले भनिन्, ‘राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राख्यो तर सहकारी समस्या समाधान भयो त ? बचतकर्ताको करीब ३०० अर्ब हिनामिना भएको उल्लेख छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने विषय कहाँ पुग्यो ?’
उनले जिल्ला–जिल्ला घुमाएर मात्रै सहकारी पीडितको रकम फिर्ता हुने भए सभापति ७७ वटै जिल्ला घुम्न तयार भएका बताइन् । उनले भनिन्, ‘एउटा व्यक्ति विशेषलाई लक्षित गरेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले हाम्रो पार्टी सभापतिलाई बयान गराउने नाममा जिल्ला जिल्ला घुमाउने काममा व्यस्त देखिन्छ । जिल्ला–जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? हुन्छ भनिदियोस् सरकारले, हाम्रो सभापति २–३ जिल्ला मात्रै होइन, ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’
प्रतिक्रिया