विनोद चौधरी भन्छन्, ‘कांग्रेसको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला’

विनोद चौधरी भन्छन्, ‘कांग्रेसको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला’


बुटवल–उद्योगपति एवं कांग्रेसबाट समानुपातिक उम्मेदवार विनोद चौधरीले कांग्रेसले तयार गरेको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला रहने विश्वास व्यक्त गरेका छन्।

 

 

शनिबार बुटवलमा आयोजित भेलामा चौधरीले आर्थिक समृद्धिको अभियान सुरु भइसकेकाले उद्योग व्यवसायीको साथ आवश्यक रहेको बताए। राज्यले व्यापार गर्ने नभई निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि आवश्यक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्नुपर्ने धारणा उनले व्यक्त गरे।

 

 

लगानीकर्तालाई आकर्षित गर्न पुँजी निर्माणका लागि अवसर सिर्जना गर्न सहुलियतपूर्ण कर भुक्तानीको व्यवस्था मिलाउन सकिने चौधरीको कथन थियो।

 

 

निजी क्षेत्रद्वारा स्थापना हुने उद्योगले रोजगारीका निश्चित शर्तहरू पालना गर्नुपर्ने र रोजगारीको ग्यारेण्टी गरिएवापत राज्यले उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने नीति लिनुपर्ने उनले स्पष्ट पारे।

 

 

 

कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका चौधरीले तयार गरेको उक्त मार्गचित्र पार्टीले शुक्रबार राजधानीमा सार्वजनिक गरेको थियो।

 

 

पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै कांग्रेसले उनलाई उक्त उपसमितिको संयोजकको जिम्मेवारी दिएको थियो।