प्रतिबन्धित समूहका महासचिव विप्लव पक्राउ परे के हुन्छ ?

प्रतिबन्धित समूहका महासचिव विप्लव पक्राउ परे के हुन्छ ?


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गर्दै गत फागुन २८ मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

सरकारले नेत्रविक्रम ‘विप्लव’ को समूहलाई प्रतिबन्ध लगाएसँगै उसका नेता कार्यकर्ता अहिले धमाधम पक्राउ पर्न थालेका छन् । फागुन २८ पछिमात्रै विप्लव समूहका पाँच दर्जन बढी नेता–कार्यकर्ता धमा धम पक्राउ परिसकेका छन् ।प्रहरीले अरु नेता–कार्यकर्ता पनि पक्राउ गर्ने सरकारी नीतिलाई निरन्तरता दिने जनाइसकेको छ ।

केही उच्च तहका नेताहरू सहित महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका भनिएका उक्त पार्टीका कार्यकर्ताहरू पक्राउ पर्नुलाई सरकारी अधिकारीहरूले सफलताको रूपमा लिइरहेका छन् । प्रधानमन्त्री सहित मन्त्रीहरूले समेत उक्त पार्टीले हिंसात्मक गतिविधि छाडेर आएपछि मात्र वार्ता हुनसक्ने चेतावनी दिइरहेका बेला । तर उक्त पार्टीले भने सरकारले लगाएको प्रतिबन्धको कडा प्रतिरोध गर्ने भनाइ सार्वजनिक गरिसकेको छ ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले समयसीमा तोकेरै उक्त पार्टीलाई विध्वंसात्मक गतिविधि त्यागेर वार्तामा आउन आग्रह गरे। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त समूहलाई चैत महिना भित्र ’हतियार बुझाएर वार्तामा नआए नियन्त्रण गर्ने’ चेतावनी दिए। तर सरकारले चालेका पछिल्ला कदमहरू उसैका लागि ’प्रत्युत्पादक र आत्मघाती’ हुनसक्ने विज्ञहरूले बताएका छन्।

२०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले सशस्त्र द्वन्द सुरु गर्दा त्यसबेलाको सरकारले यस्तै नीति लिएकाले देशमा १० वर्ष लामो गृहयुद्ध मच्चिएको भन्दै विज्ञहरूले सरकारलाई लचिलो कदम चाल्न सुझाव दिएका हुन्। चन्द नेतृत्वको समूहले जिम्मा लिएको ललितपुरको नख्खुमा भएको विस्फोटमा एकजनाको ज्यान गएको थियो।

सरकारको पछिल्लो नीति सरकारकै लागि ’आत्मघाती’ बन्न सक्छ

सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेको बुझाइमा चन्द नेतृत्वको नेकपा राजनीतिक संगठन भएकाले उससँग सरकारले राजनीतिक रूपमै छलफलहरू गर्नु उपयुक्त हुन्छ। “उसका राजनितिक मुद्दाहरू छन् यद्यपि उसका गतिविधिहरू केही ध्वंसात्मक र आपराधिक देखिएका छन“ उनी भन्छन, “तर पनि सरकारले आकस्मिक रूपमा उसमाथि प्रतिबन्ध लगाएर आक्रामक नीति लिनुले अर्को हिंसा र प्रतिहिंसाको वातावरण सिर्जना हुनसक्छ।“ उनले सरकारको पछिल्लो नीति सरकारकै लागि ’आत्मघाती’ बन्नसक्ने चेतावनी पनि दिए।

विप्लव नै पक्राउ परे के होला ?
उनले अहिलेकै अवस्थामा चन्द नेतृत्वको नेकपाको सांगठनिक र फौजी अवस्था हेर्दा सुरक्षाकर्मीसँग भिडन्त गरिरहाल्ने खालको नभए पनि विस्तारै त्यो दिशामा जानसक्ने बताए। यसअघि सरकारले आफूमाथि दमन गरे प्रतिवाद गर्ने जवाफ दिएपनि विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता गिरफ्तारीबाट बचाउन सकेको छैन । पछिल्लो समय शनिबार मात्रै पनि विप्लवका तेस्रो वरियताका नेता हेमन्त प्रकाश वली समेत पक्राउ परेका छन् ।

सुरक्षा स्रोतले विप्लवसहितका शीर्ष नेताहरुमाथि उच्च निगरानी गरिरहेको बताइरहँदा स्वाभाविक रुपमा प्रश्न सतहमा आएको छ- प्रतिवन्धित नेकपाका महासचिव विप्लव नै पक्राउ परे के होला ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार दमनबाट समस्याको समाधान हुन नसक्ने भन्दै वार्ताबाटै समस्याको समाधान खोजिनस पर्छ । ‘दमन त्यसको उपाय होइन । तर, सरकार जसरी प्रस्तुत भएको छ त्यसबाट वार्ताको सम्भावना देखिदैन । प्रतिवन्ध लगाउने अनि वार्ता गर्छु भनेर को आउँछ ? पार्टी प्रतिवन्ध लगाएपछि झन् एग्रेसिप रुपमा जाने सम्भावना हुन्छ ’ ‘पार्टी प्रतिवन्ध लगाउनु अघि वार्ताको सम्भावना थियो ।’

विप्लव गिरफ्तार भए भने के हुन्छ ? ‘विप्लव गिरफ्तार भए भने वाँकी नेतृत्व कुन ढंगले चल्छ भन्ने कुरामा आधारित हुन्छ । नेतृत्व एकलमात्रै रह्यो भने पेरुको जस्तो हुने सम्भावना हुन्छ । गोन्जालोको गिरफ्तारि पछाडि जस्तो भयो त्यस्तै हुने सम्भावना हुन्छ । होइन बैकल्पिक नेतृत्व पनि बलियो भयो भने यो अगाडि बढ्छ ।’

वैकल्पिक नेतृत्व कति बलियो छ भन्नेमा भर पर्छ । यो अहिले भन्न सकिने कुरा होइन । तर, विप्लवले तत्काल आफ्ना गतिविधिलाई बढाउने सम्भावना श्रेष्ठले देखेका छन् । उनका अनुसार सरकारले भन्दैमा विप्लव सहजै वार्तामा आउने सम्भावना छैन ।