काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले देशभरबाट पक्राउ गर्न सुरु गरेको छ । माओवादी नेताहरु बर्षमान पुन र जनार्दन शर्मामाथी बम आक्रमण भएसंगै प्रहरीले सशक्त कारबाही सुरु गरेको हो ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विप्लव माओवादीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्तालाई पोखरा, लम्जुङ र ताप्लेजुङबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपानेले चुनाव विथोल्ने गतिविधीमा संलग्न भएकाहरुलाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको बताए ।
उनले भने ‘उच्छृंखल गतिविधिमा संलग्नमाथि प्रहरीले कारबाही सुरु गरेको हो, यो कुनै समूह विशेष भन्दा पनि चुनाव विथोल्न खोज्नेहरुलाई लक्षित गरेर प्रहरीले कार्वाही अघि बढाएको हो ।’
प्रहरीले ताप्लेजुङको हाङपाङबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य सकल लिम्बु, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश काकी र लमजुङ्गका जिल्ला सेक्रेटरी सन्तोष कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यसअघी रोल्पामा नेकपाका सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाइसकेको छ ।
प्रतिक्रिया