विप्लवका कार्यकर्ताको आतंकपछि यस्तो छ सरकारको रणनिती,पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

विप्लवका कार्यकर्ताको आतंकपछि यस्तो छ सरकारको रणनिती,पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिंदै चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरूले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् ।

 

 

 

विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विष्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रूपमा मतदातालाई धम्क्याउने रणनीति बनाएको स्रोतले बताएको छ । उनीहरूले स्थानीय तहका पदाधिकारी र उम्मेदवारलाई निर्वाचन बहिष्कार गर्ने आफ्नो पार्टीको नीतिलाई सहयोग गर्न भन्दै पत्र लेखेका छन् । तर, पत्रमा चन्दा दिनुपर्ने भने उल्लेख छैन ।

 

 

 

स्रोतका अनुसार, सम्बन्धित व्यक्तिलाई पत्र थमाएपछि मौखिक रूपमा रकम माग्ने गरेका छन् । देखिने गरी कसैलाई केही नगरे र नभने पनि विप्लवका कार्यकर्ताले गुप्त रूपमा प्रदेश २ बाहेक मुलुकभरि नै निर्वाचनविरोधी गतिविधि र चन्दा आतंकलाई सक्रिय बनाएको सुरक्षा स्रोतले बताएको छ ।

 

 

विप्लव कार्यकर्ताले आफ्नो पार्टीले अख्तियार गरेको चुनाव खारेजीको नीतिलाई सहयोग र्पुयाउन सम्बन्धित जिल्लाका सरकारी कार्यालय प्रमुख, व्यापारी र दलका उम्मेदवारलाई धम्कीपूर्ण भाषामा चन्दा माग्न थालेका छन् । उनीहरूले कुनै पनि हालतमा निर्वाचन बिथोल्ने भन्दै मतदान बहिष्कार गर्न मतदातालाई दबाबसमेत दिन थालेका छन् ।

 

 

गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिइएको बताए ।

 

 

‘निर्वाचन बिथोल्ने प्रयास गर्ने जोसुकै हुन, तत्काल पक्राउ गरी कारबाही गछौं’, प्रवक्ता दुवाडीले भने । कात्तिक १७ मा भोजपुर २ का कांग्रेस प्रत्यक्षतर्फका उम्मेदवार गोविन्द कार्कीको घरमा ‘घर कब्जा’ को सूचना टास्ने विप्लव कार्यकता एकराज घिमिरेलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ ।

 

 

नेकपा भोजपुरका सेक्रेटरी मादेनले मनोनयन फिर्ताका लागि गरेको आग्रह कार्कीले अटेर गरेकाले ‘घर कब्जा’ गरिएको सूचना टँस्न लगाएका थिए । उनीहरूले उम्मेदवार कार्कीको घर पुरानो भएको भन्दै भाइको घरमा ‘घर कब्जा’ को सूचना टाँसेका थिए ।

 

 

त्यस्तै विप्लवका कार्यकर्ताले डोटी जिल्लाका दुर्गम स्थानमा सर्वसाधारणलाई मतदान गरे जनयुद्ध झै कारबाही गर्ने भन्दै धम्क्याउन थालेका छन् । विप्लव कार्यकर्ताले प्युठानमा प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेलसंग गोप्य छलफल गरेको स्रोतले दाबी गरेको छ । भेटमा विप्लव कार्यकर्ताले पोखरेलसँग चन्दा मागेका थिए ।

 

 

 पोखरेलले विप्लवका कार्यकर्तासँग चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ । कात्तिक २२ मा नेकपा प्युठानका सेक्रेटरी दधिराम सुवेदीले कथित संसद् र प्रदेश निर्वाचन बहिष्कार गर्न भन्दै विज्ञप्ति निकालेका थिए ।

 

 

स्रोतका अनुसार सिन्धुली जिल्लाका केही सरकारी कार्यालयका प्रमुखबाट विप्लव कार्यकर्ताले दुई दिनअघि मात्र चन्दा उठाएका छन् । तर सरकारी कर्मचारीले भने डरका कारण कतै उजुरी गरेका छैनन् ।

 

 

 

अघिल्लो बिहीबार जंगी अड्डामा बसेको निर्वाचन लक्षित पृतनापतिहरूको बैठकले समेत जनस्तरबाटै विप्लव र उनका कार्यकर्ता बहिष्कृत भइसकेकाले उनीहरू निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको थियो ।

 

 

 त्यसअघि गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले पनि विप्लवले आफ्नो उपस्थिति जनाउन उम्मेदवारलाई धम्क्याउने, चन्दा असुली गर्ने गतिविधि गरे पनि उनीहरूसंग निर्वाचन बिथोल्ने सामथ्र्य नभएको निष्कर्ष निकालेको थियो । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।