काठमाण्डु – पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)सँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एकीकरण हुने चर्चा राजनीतिक वृत्तमा केही समय अघि व्यापक चलेको थियो । विप्लवलाई माओवादीले महासचिव बनाउने भन्ने विषय माओवादीका नेताहरूले नै बताएका थिए ।
तर, केही दिन अघि कपिलवस्तुमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको छ। केन्द्रीय समिति बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकता विरोधी भएको पनि निर्णय गर्दै अब एकताको पहल नगर्ने निर्णय गरेपछि एकताको सम्भावना तत्काललाई टरेको बुझ्न गाह्रो छैन ।
केन्द्रीय समिति बैठकबाटै माओवादी केन्द्रसँग एकता गर्ने र अरू वामपन्थी शक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको नेकपा किन आफ्नो निर्णबाट पछाडि हट्यो त ? नेकपाका नेताहरू भन्छन्, ‘प्रचण्डले पहल नगरेकै कारणले एकता अनिश्चित भयो । अब एकताको पछि कुद्नु आवश्यक छैन ।’
नेकपाका नेता अनिल विरही भन्छन्, ‘माओवादी र त्यसको नेतृत्वको हिसाबले प्रचण्डले नै पहल नगरेको निचोडमा पुगेका छौं । त्यसैले एकता अनिश्चित बनेको छ, तर गर्दै नगर्ने भन्ने होइन ।’
माओवादी केन्द्रमा विप्लवलाई महासचिव नै बनाएर ल्याउने विषयमा छलफल चलेपछि अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका नेताहरू भन्दा विप्लवले नै माओवादीलाई सपोर्ट गर्दै आएको बताएका थिए। प्रचण्डले उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले आफूविरुद्ध घेराबन्दी बढाएपछि विप्लव कार्ड खेलेका थिए ।
मंसिर २८ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टी एकतामा आएकाहरू पुराना पार्टीको जिम्मेवारी अनुसार नै जिम्मेवारी दिने निर्णय गरेर सोही बमोजिम तल्ला समितिहरूमा सर्कुलर पठाइएको थियो ।
तर पुन र शर्मा एकै ठाउँमा उभिएपछि अहिले प्रचण्ड आन्तरिक रुपमा दबाबमा छन् । शर्माले लिखित रुपमा प्रचण्डलाई नेतृत्व छाड्ने प्रस्ताव औपचारिक बैठकमा राखेका थिए ।
पार्टीभित्र नेता व्यवस्थापनमा समस्या भइरहेको बेला विप्लवसँग एकता गर्दा थप गिजोलिनसक्ने भएकाले प्रचण्डले अहिले हतारो नगरेको स्रोत बताउँछ ।
माओवादीका एक शीर्ष तहका नेता भन्छन्, ‘अध्यक्षले पहिला नै विप्लवजीलाई महासचिव बनाउँछु भन्नुभएको रहेछ, तर अहिले उहाँलाई महासचिव बनाउँदा पार्टीभित्र विरोध हुनसक्ने भएकाले कुरा मिलेको छैन ।’
ती नेताले एकतामा ढिलाइ हुनुको मूल कारण नै पद रहेको बताए । नेकपासँग एकता गर्दा विप्लवमात्रै नभएर अन्य नेताहरुको पनि व्यवस्थापनको विषयमा पार्टीभित्र एकमत भए एकता हुनसक्ने ती नेताको भनाइ छ ।
अहिले पार्टीभित्र आन्तरिक समीकरणमा अप्ठेरो स्थितिमा रहेका प्रचण्डले आफू निकट रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपाध्यक्ष बनाएर पार्टीमा फर्काउने तयारीमा छन् ।
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले संवादमा रहेका दलहरुसँगको एकताबारे आगामी केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय हुने बताए ।
प्रतिक्रिया