विराटनगर – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गतवर्षभन्दा १० करोड बढाएर बजेट ल्याएको छ । महानगरले सोमबार ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको हो ।
चालु आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो ।
उपप्रमुख शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ ।
समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोडका दरले बजेट दिएको छ ।
महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४।१३ प्रतिशत हो ।
सो खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया