वीरगञ्ज एकीकृत भन्सार जाँच चौकीको उद्घाटन दिल्लीबाटै

वीरगञ्ज एकीकृत भन्सार जाँच चौकीको उद्घाटन दिल्लीबाटै


काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन गरेका छन् । नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन दिल्लीबाटै गरेका हुन् ।

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ, यो जाँच चौकी । यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा हो यो ।

यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास छ । आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।