वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छ : अर्थमन्त्री पौडेल

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छ : अर्थमन्त्री पौडेल


काठमाण्डु – एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाण्डुमा सुरु भएको छ ।

सम्मेलनको शुक्रबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । एसियाली देशका सुरक्षण संस्थाको ३६औं सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको छ ।

सम्मेलन उद्घघाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्त्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताए ।

उनले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गरे ।

मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने बताए ।

उनले भने, ‘सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ । बजेटमार्फत १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।’

सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोग पुगेको बताए ।

उनले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताए । कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उनले त्यसबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेका छन् ।