निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी अब रोकिँदैन : अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी अब रोकिँदैन : अर्थमन्त्री पौडेल


काठमाण्डु – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अब नरोकिने बताए ।

‘निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने जुन गुनासो छ, यो गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भने ।

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाइन’को विद्युत् महशुल बक्यौता विवाद विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेको भन्दै अर्थमन्त्री पौडेलले विवाद पनि कानूनअनुसार सुल्झाइने बताए ।

‘डेडिकेटेड र ट्रंकलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नुभएको छ । यो विषयलाई त्रास र आतंकका रूपमा नलिनुस् । गैरकानूनी ढंगले सरकारले कुनै दायित्व सिर्जना गर्दैन,’ निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले भने, ‘यदि कसैले गैरकानूनी रूपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईंहरू डेलिगेसन आइरहनुपर्ने अवस्था रहँदैन ।’

उनले सरकार निजी क्षेत्रको अभिभावकका रूपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको पनि प्रष्ट पारे । ‘सरकार अभिभावकको रूपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिने छैन । राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस्,’ अर्थमन्त्री पौडेलले थपे, ‘तपाईंहरूले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला । समस्याको समाधान एकै टेबुलमा बसेर, मिलेर नै खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी समाधान खोजौं ।’

उनले विकास तथा समृद्धि यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुन एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसकिने पनि बताए । पछिल्लो समय सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै अर्थमन्त्री पौडेलले त्यस दिशामा सरकार लागिपर्ने बताए ।

‘पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ । राजस्व घटेको छ । पुँजीगत खर्च घटेको छ । सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ,’ उनले भने, ‘सबै समस्याको समाधान भेटिन्छ तर टुटेको मनोबलको समाधान भेटिन्न । यसकारण तपाईंहरू उच्च मनोबलका साथ काम गर्नाेस् । सरकार तपाईंहरूसँगै छ ।’

अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्र लगानी बढाउनेभन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकाले त्यसलाई सहजीकरण गर्न सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यावहारिक सुधारमा आफू सधैं तयार रहेको जानकारी दिए ।

‘सरकारले निजी क्षेत्रलाई नीतिगत रूपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिन्छ । निजी क्षेत्रलाई काम गर्न अप्ठ्यारो भएका नीति सहजीकरणका लागि सरकार तयार छ । कुन नीतिमा सरकारले कस्तो सहयोग गर्नुपर्छ भनेर तपाईंहरूबाट सुझाव आओस्,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री पौडेलसँग सरकारसँग निजी क्षेत्रको अपेक्षाबारे आफ्नो धारणा राखेको थियो । सो क्रममा महासंघका अध्यक्ष ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने बताए । अध्यक्ष ढकालले मुलुकको अर्थमन्त्रीलाई सुधार गर्नका लागि सबै सरोकारवाला सम्मिलित आयोग बनाउनुपर्ने सुझाव समेत दिए ।

ढकालले नयाँ सरकार बनेसँगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष ढकाल नेतृत्वको टोलीले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समग्र समस्या र समाधानको विषयमा अवगत गराएको थियो ।