एमाले नेता रिजालको टिप्पणी-परराष्ट्रमन्त्रीहरूले लोकलाजको ख्याल गर्नुपर्छ

एमाले नेता रिजालको टिप्पणी-परराष्ट्रमन्त्रीहरूले लोकलाजको ख्याल गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीहरूको विदेश भ्रमणप्रति टिप्पणी गरेका छन् । उनले परराष्ट्रमन्त्रीहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुममा उनले लेखेका छन्, ‘ परराष्ट्रमन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियतमा कुरा गर्दा हुन् ?’

भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि परराष्ट्रमन्त्री डा. आरजु देउवा भारत भ्रमणमा रहिरहँदा १५ मिनेट समयका लागि छ दिनदेखि भारतमा रहेको भन्दै उनले आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्री डा. आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो ।’

रिजालले अघिल्लो पटक परराष्ट्रमन्त्री एनपी साउदले एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिएको उल्लेख गर्दै त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेट्न नौ दिन खर्चिएको उल्लेख गरेका छन् ।

‘यस्ता परराष्ट्रमन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत (इक्वायल फुटिङ) मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ,’ उनले लेखेका हुन् ।