माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल

माओवादी राजनीतिक दल बनेकै छैन : विष्णु रिमाल


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आज शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देशमा मूल राजनीतिक प्रतिस्पर्धी शक्ति एमाले र कांग्रेस भएका प्रष्ट पारे ।

‘मूल पार्टी एमाले र कांग्रेस मात्रै हुन्, प्रतिस्पर्धा पनि यिनै दलबीच हुने हो,’ उनले भने ।

२ पार्टीमध्ये एजेण्डा र दृष्टिकोण बोकेको पार्टी नेकपा एमाले मात्र भएको उनले दाबी गरे । कांग्रेससँग कुनै एजेण्डा नै नभएको उनले दाबी गरे ।

‘कांग्रेस अहिले एजेण्डामा छैन, गठबन्धन गरेनौं भने चुनाव हार्छौं भन्ने मात्र छ, चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन, प्रतिस्पर्धाको कुरा हुन्छ,’ उनले भने ।

कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको रिमालले बताए । त्यसैले कांग्रेस गठबन्धनका पछाडि लागेको उनले तर्क गरे ।

रिमालले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत लिन नसकेको बताए । ‘माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन, प्रचण्डजीको अहिले ३२ सिट छ, ९० सिटलाई हल्लाएर खाइराख्नुभएको छ,’ उनले भने ।