प्रत्यक्ष निर्वाचित होइन, लोकप्रिय मत ल्याउने पार्टीबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

प्रत्यक्ष निर्वाचित होइन, लोकप्रिय मत ल्याउने पार्टीबाट प्रधानमन्त्री : महामन्त्री शर्मा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित नभई जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति ५ वर्ष प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले आईतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले संविधान संशोधन गरेरै भए पनि यस्तो व्यवस्था गर्नुपर्ने बताए ।

कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री ५ वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ । कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था तत्काल नेपालमा आवश्यक छैन । संविधान संशोधन गर्दा कांग्रेसले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन ।’

प्रत्यक्ष निर्वाचनको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई ५ वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनले बताए ।

उनले भने, ‘लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले २ वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ,’ महामन्त्री शर्माले भने ।

उनले कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटै व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताएका छन् ।