गिरीबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन रोक्नुहुन्न : महामन्त्री शर्मा

गिरीबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन रोक्नुहुन्न : महामन्त्री शर्मा


काठमाण्डु – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन रोक्न नहुने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री शर्माले छानबिनमा खुट्टा नकमाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ शर्माले भने, ‘त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।’

महामन्त्री शर्माले अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने पनि बताए। ‘गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो। यो बेला प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका को व्यक्ति हुन् तिनले छुट पाउन हुँदैन,’ शर्माले भने ।

शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताए । महामन्त्री शर्माले नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि आग्रह गरेका छन्।

‘हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाब दिए । उनले हल्ला थोरै र काम धेरै गर्न पनि आग्रह गरेका छन्।