काठमाण्डु- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।
सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राले स्वागत गरेकी छिन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरू थाइल्याण्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री सहित नेताहरूले सम्बोधन गर्नेछन् ।
सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री सिनावात्राले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैंककस्थित होटेल सांग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।
बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।



प्रतिक्रिया