चीनसंग जोडिएको ताक्लाकोट नाका बझाङको चुनावी मुद्दा

चीनसंग जोडिएको ताक्लाकोट नाका बझाङको चुनावी मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ– उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ ।

 

 

बझाङको उरै भन्ज्याङसंग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन ।

 

 

दुवै प्रमुख पार्टी कांग्रेस र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारले सदरमुकाम चैनपुरबाट नेपाली सीमा उरै भन्ज्याङसम्म सक्दो छिटो सडक सञ्जाल र्पुयाएर ताक्लाकोट नाका खोल्ने मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

 

 

 

चैनपुर–ताक्लाकोट सडक खुले तिब्बतसित व्यापारिक नाका खुल्ने र चीनको चर्चित धार्मिक स्थल मानसरोवरसम्म आउजाउ गर्ने मुलुककै प्रमुख पर्यटकीय मार्ग बन्ने नाराले मतदाता आकर्षित गरिरहेको छ । प्रस्तावित नाका आइपुग्न चीनतर्फ जम्मा २० किमि सडक बन्न बाँकी छ । तिब्बत सरकारले बांकी सडक बनाउनसमेत टेन्डर गरिसकेको छ ।

 

 

 

ताक्लाकोट चैनपुरबाट १ सय ३ किलोमिटर दूरीमा पर्छ । चैनपुरबाट ताक्लाकोट जाने २५ किमि सडक बनिसकेको छ भने थप १० किमि ट्रयाकसमेत खुलिसकेको छ । यो सडक बनाउन सरकारले १ अर्ब रुपैया विनियोजन गरेको छ ।

 

 

नेपालको हिल्सा र तातोपानी नाकाबाट भारतीय हजारौं तीर्थयात्रु मानसरोवर जाने गर्छन् । भारतको नयाँदिल्लीबाट यो नाका हुँदै मानसरोवर पुग्न जम्मा ७ सय किमि पर्छ । ७ नम्बर प्रदेशका लागि आवश्यक सामान चीनबाट ल्याउन र निर्यात गर्न पनि यही नाका सहज हुनेछ ।

 

 

 

कांग्रेस र वामपन्थी गठबन्धन दुवैले आफनो पार्टीले जितेर सरकार बनाउनासाथ चिनियां सरकारसित कूटनीतिक पहल गरी नाका खोल्न सहमति गर्ने वाचा मतदातासमक्ष गरिरहेका छन् । औपचारिक रूपमा नाका नखुलेको र दुवैतर्फ भन्सार नभएकाले यो नाकाबाट हाल जडीबुटी, रक्तचन्दन र वन्यजन्तुको छाला तस्करी मात्र हुने गरेको छ ।

 

 

 

नाका खुल्नासाथ जिल्ला व्यापारिक केन्द्र बन्ने र धार्मिक पर्यटनबाट जिल्लाको अर्थतन्त्रमा कायापलट हुने विश्वास कांग्रेस र वाम गठबन्धनको छ । ‘जिल्लाको समृद्धिका लागि ताक्लाकोट नाका खोल्ने हाम्रो पहिलो मुद्दा हो,’ प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार पुथ्वीबहादुर सिंहले भने ।

 

 

 

एमालेका उम्मेदवार भैरवबहादुर सिंहले पनि ताक्लाकोट नाका खोल्ने वाम गठबन्धनको पहिलो प्राथमिकता भएको बताए । ‘नाका खुलेपछि जिल्लाको कायापलट हुने विश्वास छ,’ उनले भने ।

 

 

 

दुवै दलले नाकापछि जिल्लाभर सडक सञ्जाल विस्तार गर्ने र सबै स्थानीय तहमा विद्युतको केन्द्रीय प्रसारण लाइन र्पुयाउने कुरालाई दोस्रो ठूलो मुद्दा बनारहेका छन् । ‘जिल्लाका सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन र्पुयाएर बझाङलाई उज्यालो बनाउने र जिल्लाभर सडक सञ्जाल र्पुयाउने र भएकालाई स्तरोन्नति गर्ने हाम्रो दोस्रो प्राथमिकता हो,’ एमाले उम्मेदवार सिंहले भने ।

 

 

 

कांग्रेस उम्मेदवार सिंहले आफनो पार्टीले निर्माणाधीन खोड्पे–चैनपुर १३३ केभी प्रसारण लाइन छिटो निर्माण सक्ने र सबै स्थानीय तहमा प्रसारण लाइन ५ वर्षमा र्पुयाउने मुद्दालाई दोस्रो प्राथमिकतामा राखेको बताए । जिल्लामा २५० मेगवाटको माथिल्लो सेती जलविद्युत् आयोजना बनाउनेसमेत दुवै दलको एजेन्डा छ । व्यावसायिक र रोजगारमूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य सुविधा, ‘एक घर एक खानेपानी धारा’ लाई समेत दुवै दलले प्राथमिकतामा राखेका छन् ।

 

 

जिल्लामा आर्थिक उपार्जन हुने गरी विकास निर्माणलाई अघि बढाउने वाचा दुवै दलले गरेका छन् । कांग्रेस उम्मेदवार सिंहले हालका स्वास्थ्य चौकी काम नलाग्ने उल्लेख गर्दै सबै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अत्याधुनिक अस्पताल खोल्ने आफनो पार्टीको एजेन्डा रहेको जनाए । आजको कान्तिपुरमा समाचार छ ।