निर्वाचनमा चलेन भाजपाको ‘अयोध्या कार्ड’

निर्वाचनमा चलेन भाजपाको ‘अयोध्या कार्ड’

'जो राम को लाए हैं हम उनको लाएंगे’ नारा फेल


काठमाण्डु – भारतमा लोकसभा निर्वाचनको घोषणादेखि मतदान सम्पन्‍न भएर मतपरिणाम आइसक्दासम्म अयोध्यामा हालै पुनर्निर्माण भएको राम मन्दिरको मुद्दा अझै सेलाएको छैन ।

राम मन्दिरको पुनर्निर्माणलाई धेरैले भारतीय जनता पार्टीको निर्वाचन जित्‍ने रणनीतिका रूपमा अर्थ्याएका थिए । तर, मत परिणाम आइसकेपछि विश्लेषकरूले राम मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन अघि चलाएको ‘हिन्दुत्व’को कार्ड अयोध्यामा असफल भएको टिप्पणी गरेका छन् ।

मतदानको दिनसम्म भाजपाका ठूला-साना तहका नेताहरूले  अयोध्यामा राम मन्दिरलाई देखाएर मत तान्‍ने प्रयासमा गरिरहेका थिए ।  निर्वाचनको परिणामले भाजपाको यो मुद्दालाई मतदाताले ‘ब्याकफायर’ गरिदिएको देखाएको छ । लोकसभा निर्वाचनमा भाजपाको हारको एक कारण अयोध्या  पनि बनेको छ । अयोध्यामा मात्र होइन, यस आसपासका झण्डै सय किलोमिटरसम्मका सबै सीटमा पनि भाजपा नराम्ररी पछारिएको छ ।

भाजपाले अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठालाई चुनावी एजेन्डा बनाएको थियो । तर भगवान रामको कार्ड त्यहाँ काम लागेन ।

अयोध्यामा भगवान श्रीरामको मन्दिर पुनर्निर्माणपछि पहिलो लोकसभा निर्वाचन भएको हो । प्रधानमन्त्री मोदीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भाजपाका सबै ठूला साना नेताहरू राम मन्दिरमा भगवान रामको मूर्ति प्राण प्रतिष्ठामा सहभागी भएका थिए ।

अयोध्यामा राम मन्दिरको पुनर्निर्माण हुनुअघि देखि नै भाजपाले नारा लगाएको थियो -‘जो राम को लाए हैं हम उनको लाएंगे’ । राम मन्दिर मुद्दालाई धार्मिक नाराको रूपमा प्रयोग गरेर भाजपाले उत्तर प्रदेशमा चुनावी लाभ लिन गरेको प्रयास असफल भएको छ ।

आफ्नो मतमार्फत मतदाताले भाजपाको यो मुद्दालाई अस्वीकृत गरिदिएका छन् । जसका कारण भाजपाले फैजाबाद लोकसभा क्षेत्रमा (जो अयोध्याको नामले पनि चिनिन्छ) मा भएको निर्वाचनमा पराजय  ब्यहोरेको छ । साथसाथै अयोध्या आसपासका करिब सय किलोमिटरसम्म पनि भाजपाका उम्मेदवारले चुनाव जित्न सकेनन् ।

यसै वर्षको सुरुमा अयोध्यामा पुनर्निर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको थियो ।  प्रधानमन्त्री मोदीले मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए । राम मन्दिर प्राण प्रतिष्ठामा विपक्षी दलबाट कसैलाई बोलाइएको थिएन ।

यसले पनि प्राण प्रतिष्ठा भाजपाको चुनावी कार्डको रूपमा प्रयोग भएको भन्‍न सकिने कतिपयको तर्क छ । भाजपा अयोध्या सीटमा चुनाव हार्नुका साथसाथै अयोध्या मण्डलमा रहेका क्षेत्रहरू फैजाबाद, बाराबम्की, अम्बेडकरनगर, सुल्तानपुर र अमेठी लोकसभा सीटमा पराजित भएको छ ।

अयोध्यामा नयाँ निर्माण भएको विमानस्थलदेखि अन्य विकासका कार्य उत्तर प्रदेशको योगी नेतृत्वको सरकारले गरेको हो । मतदातामा यसको प्रभाव देखिएन । अयोध्याका यी ‘हट सीट’मा विपक्षी गठबन्धनमा रहेको समाजवादी पार्टी  विजय प्राप्त गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले यतिसम्म पनि भनेका थिए कि यो निर्वाचन रामभक्त र राम द्रोहीबीचको हो । उनको भनाइमा रामभक्तको अर्थ उनीरू हुन् जो राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी भएका थिए र जो प्राण प्रतिष्ठामा सहभागी भएनन् । आदित्यनाथको नजरमा उनीहरू रामद्रोही कहलिए । ‘जसले यहाँ रामलाई ल्याएका छन् यूपीका जनताले उनलाई दिल्लीको सत्तामा पुर्‍याउँनेछ’, योगीले भनेका थिए ।

यद्यपी अयोध्या नजिक रहेको कैसरगञ्‍ज र गोंडा संसदीय सीटमा मात्र भाजपा विजयी भएको छ । अन्य क्षेत्रमा भने भाजपाको ‘पत्ता साफ’ भएको छ । भाजपाकी चर्चित नेतृ तथा केन्द्रीय मन्त्री स्मृति इरानीले अमेठी लोकसभा सीटमा पराजय भोगेकी छन् ।

अयोध्यामा राम मन्दिर थियो कि बाबरी मस्जिद भन्ने विषयमा दंगा हुँदा हजारौं सर्वसाधारण मारिएका थिए । मन्दिर-मस्जिद विवाद लगातार राजनीतिक मुद्दा बन्दै आएको थियो । करिब २९ वर्षको चर्को बहसपछि सन् २०१९ नोभेम्बरमा भारतको सर्वोच्च अदाललले विवादित स्थानमा राम मन्दिर बनाउन दिने र इस्लाम धर्मावलम्बीलाई मस्जिद बनाउन कुनै ठाउँ दिने फैसला गर्‍यो । एक अर्बभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको भारतमा धार्मिक ध्रुवीकरणले प्रधानमन्त्री मोदीलाई फाइदा पुग्ने अनुमान गरे पनि त्यो असफल भएको विश्लेषण गरिदैछ ।