काठमाण्डु-ठेक्काको काम सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको छ ।
राज्यमन्त्री तामाङको कम्पनीसहित एक दर्जन बढी कम्पनीहरूलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रवार सूचना जारी गर्दै १३ वटा कम्पनीलाई एक वर्षदेखि साढे दुई वर्षसम्मका लागि कालो सूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा राज्यमन्त्री एवम् नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति र दिपक थिङ आधिकारिक व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।
उनीहरूले लिएको ठेक्काको काम सन्तोषजनक नभएकाले तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
सांसद बनेपछि तामाङले आफ्नो नाममा कम्पनी नरहेको दाबी गर्दै आएका छन् । यद्यपी कार्यालयले जारी गरेको सूचनामा उनको नाम उल्लेख छ । कान्छाराम कन्स्ट्रक्सनले धेरै आयोजना लिएर अलपत्र पार्ने गरेका कारण तामाङ पटकपटक विवादमा आइरहेका हुन् ।
यसैगरी बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा, गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।
‘सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम यस कार्यालयको मिति २०८१/०७/२१ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया