बिरामीको संख्या बढ्दा रगतको अभाव

बिरामीको संख्या बढ्दा रगतको अभाव


बेलबारी – मोरङका अस्पतालमा बिरामीको संख्या बढेसँगै रगतको अभाव हुन थालेको छ ।

विराटनगरमा रहेका साना–ठूला गरी २ दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको संख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको छ ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७०–८० युनिटसम्म मात्र संकलन हुने गरेकाले माग धान्न नसकिएको बताए । यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारी लगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उनले जानकारी दिए ।

‘विगतभन्दा बिरामीको संख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ । अब रक्तदान कार्यक्रम आयोजना गर्ने क्रम बढाउनुपर्ने आवश्यकता छ,’ प्रमुख यादवले भने ।

प्रदेशभर विभिन्न संघसंस्थाले मासिक रूपमा औसत १५–२२ वटासम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको भन्दै उनले गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने भएकाले रगतको अभाव हुने गरेको बताए ।

प्रसूति, मिर्गौला डायलासिसका बिरामी, थाल्सेमिया (रगत नबन्ने) बिरामीका साथै दुर्घटनाका घाइतेहरूलाई धेरै रगत चाहिने गर्दछ । थाल्सेमिया विशेषगरी बालबालिकामा देखापर्ने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको सम्पर्कमा रहेका ९० जना बालबालिकाले थाल्सेमियाका कारण १५/१५ दिनमा नियमित रगत चढाइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जनस्तरमा रक्तदान सम्बन्धी पर्याप्त जनचेतना जगाउन सके रगत संकलनमा केही सहज हुने बताए ।

बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठले रगत अभाव पूर्ति गर्न आफूहरूले पनि रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताए । उनले शुक्रबार पनि रक्तदान कार्यक्रम आयोजना गरी ५५ युनिट रगत संकलन गरिएको जानकारी दिए ।