धितोपत्र बोर्डको चेतावनी : शेयर बजार प्रभाव पार्न खोजे कारवाही हुन्छ

धितोपत्र बोर्डको चेतावनी : शेयर बजार प्रभाव पार्न खोजे कारवाही हुन्छ


काठमाण्डु – नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमार्फत टिप्पणी नगर्न सरोकारवालाई चेतावनी दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले शेयर मूल्य प्रभावित पारेको पाइए कानून बमोजिम कारवाही गरिने जनाएको छ ।

विभिन्न सञ्चारमाध्यम तथा फेसबूक, यूट्युब, क्लब हाउस जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको शेयरको मूल्यमा प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको पाइएकाले बोर्डले सचेत गराएको छ ।

सूचनामा उल्लेख छ, ‘विभिन्न माध्यममा शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो बोर्डमा आएकाले गम्भीर ध्यानाकर्षण भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने जानकारी गराइन्छ ।’

सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम कारवाही हुने बोर्डले जनाएको छ । बोर्डले लगानीकर्तालाई उक्साहटमा नलागी सुझबुझपूर्ण तवरबाट लगानी गर्न आग्रह गरेको छ ।