काठमाण्डु – बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदैछन् । राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको ‘उचाइ’ को सुटिङका लागि उनी आज नेपाल आउन लागेका हुन् । उनी सोमबार मुस्ताङ पुग्ने भएका छन् । बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ ।
फिल्ममा अमिताभ बच्चनसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउन लागेका हुन् । उनी आज काठमाण्डु बसेर भोलि (सोमबार) बिहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकोप्टरमार्फत प्रस्थान गर्नेछन् ।
पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलीले अब मुस्ताङमा सुटिङ हुने लोकेसन छान्ने भएको छ । पहिलोपटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्न लागेका हुन् ।
नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । उनकै कम्पनीले तीन वर्षअघिदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ,’ सुरजले भने, ‘कोरोनाले गर्दा केही समय ढिलो भयो ।’
फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर छन् अरुण रेग्मी । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् । यही टिमसँग सोमबार निर्देशक बडजात्याको टोलीले ज्वाइन गर्ने छ । ‘उचाइ’ को छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा हुनेछ । केही सुटिङ काठमाण्डु आसपासमा पनि हुनेछ ।
‘हामीले काठमाण्डुमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ रेग्मीले भने । उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए । फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।
प्रतिक्रिया