काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताएका छन् ।
बिहीबार दिउँसो बालुवाटारमा पुनद्वारा लिखित पुस्तकको लोकार्पणपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पासाङजीको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गर्नुभएको छ ।’
‘म अढाइ वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसें । मैले पासाङजीलाई एकदमै नजिकबाट चिनेको छु । उहाँ छलकपटरहित, सोझो, इमान्दार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व हुनुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै शंका गर्नुभएन । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही गर्नुभएन । जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि मेरो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता उहाँ हो ।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘उपराष्ट्रपति भइसकेपछि उहाँले आफ्नो शालिनता र जिम्मेवारीबोध राम्रैसँग देखाउनुभयो । उहाँलाई उपराष्ट्रपतिमा मैले नै प्रस्ताव गरेको थिएँ । त्यो दिन म अत्यन्तै खुशी थिएँ । उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो । उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुस्किल पर्छ ।’
‘पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरें । त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहसहरू पनि छन् तर एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ,’ उनले भने ।
प्रतिक्रिया