काठमाण्डु – विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।
विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजारभन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तकमार्फत गलत पुस्तक पढाउन बाध्य बनाएको भन्दै अनेरास्ववियुले गम्भीर हुन आग्रह गरेको छ ।
अनेरास्ववियु काठमाण्डु जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा गएको टोलीले तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको छ । पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लाका ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानीमाथि गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको र विद्यार्थीको भविष्यसँग खेलबाड गरेको अनेरास्ववियुले ठहर गरेको छ ।
‘यसमा संलग्न जिम्मेवार, विषय समितिहरू, व्यक्तिहरू तथा संयन्त्रहरूको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ,’ अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
तत्काल पाठ्यपुस्तकमा गरिएका कमजोरी सच्याउन र आवश्यक छानबिन गरी २०८२ सालमा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्रै प्रकाशित र वितरण गर्न अनेरास्ववियुले आग्रह गरेको छ । पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले सरकारी डकुमेन्टप्रतिको विश्वास टुटेको अनेरास्ववियुले जनाएको छ ।
२०७८ सालको जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि १० कक्षाको पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्यांक राखिनु गलत भएको अनेरास्ववियुले जनाएको छ । यी लगायत पाठ्यपुस्तकमा धेरै त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।
‘गलत पुस्तक पढ्नु पनि विषपान सरह हो,’ अनेरास्ववियुले भनेको छ ।
महानिर्देशक श्रेष्ठले पाठ्यपुस्तकका कमजोरी सच्याउने बताए । उनले शैक्षिक सत्र २०८२ मा कमजोरी सच्याएर पुस्तक आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया