बाढी-पहिरोले सुनसान बिपी राजमार्ग (फोटोफिचर)

बाढी-पहिरोले सुनसान बिपी राजमार्ग (फोटोफिचर)


काठमाण्डु-गाडीको चापले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि गाडी चल्न सकेका छैनन् ।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ । रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ भने कतै चिराचिरा परेको छ । गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ ।

नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा पहिरो खसेको छ ।

जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ । बीपी राजमार्ग महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म कूल १६० किलोमिटर लामोे छ ।

राजमार्गको सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ ।

२०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो ।