बीपी राजमार्गमा पूर्णरूपमा यातायात सञ्चालन अनुमति

बीपी राजमार्गमा पूर्णरूपमा यातायात सञ्चालन अनुमति


काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा बुधबारदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।
कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो ।
असोज दोस्रो हप्ता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्ग अन्तर्गको धुलिखेल–भकुण्डेबेंसी–बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो ।
कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करीब ८ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको छ ।
बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुबाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधान आउजाउ गर्छन् ।
राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।