एजेन्सी – ब्राजिलको एक जेलमा कैदीबन्दीहरुको दुई समूहबीच झडप हुँदा ५२ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका कैदीबन्दीले अर्को भवनमा आक्रमण गरेका हुन् ।
त्यसक्रममा १६ जनाको घाँटी काटिएको र अन्यको जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर मृत्यु भएको जनाइएको छ ।
बन्दीको कब्जामा परेका दुई जेल अधिकारीलाई मुक्त गरिएको बीबीसीले जनाएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान झन्डै ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर मात्र नियन्त्रणमा आएको थियो ।
कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्डका सदस्यहरू राखिएको भवनमा आगो लगाएको प्रान्तीय सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।
हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता दुई सय जना अटाउने भए पनि झन्डै तीन सय कैदी राखिएको छ ।
ब्रजिलको सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न समूहका नाइकेलाई सङ्घीय कारागारमा सरुवा गर्न लागिएको छ ।
प्रतिक्रिया