काठमाण्डु – नेपाली कांग्रेसले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन गर्न ऋण नलिने, अनुदान नछाड्ने गरी सम्झौता गर्नुपर्ने प्रस्ताव गरेको छ । सोमबार र मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको आशन्न चीन भ्रमणका सन्दर्भमा गर्नुपर्ने सम्झौता सन्दर्भभा भएको छलफलमा कांग्रेसले त्यस्तो प्रस्ताव गरेको हो । कांग्रेसको यो प्रस्ताव १७ असारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गरेको निर्णय अनुरुप हो ।
कांग्रेसले आफ्नो प्रस्तावलाई साझा धारणा बनाउनु पर्ने बताए पनि एमालेले यसमा सहमति जनाएको छैन । गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले बीआरआई सम्बन्धमा ऋण नलिने, अनुदान नछाड्नेबारे साझा धारणा बनाउनुपर्ने प्रस्ताव आफूहरूको रहेको बताएका छन् ।
कैलालीको धनगढीमा बिहिबार पत्रकारहरूसँग गृहमन्त्री लेखकले भने, ‘नेपाली काँग्रेस र एमालेले बीआरआई सम्बन्धमा ऋण नलिने, अनुदान नछाड्नेबारे साझा धारणा बनाउनुपर्छ । कांग्रेसका तर्फबाट दुई दलको बैठकमा त्यो प्रस्ताव पेस भएको छ । सहमति जुटाउने प्रयास जारी छ ।’
कांग्रेसले संस्थागत रूपमा पार्टीले निर्णय गरिसकेकाले ऋणका रूपमा स्वीकार गर्न नसक्ने धारणा एमालेसँगको छलफलमा राखेको छ । तर, प्रधानमन्त्री ओली र एमाले नेताहरूले भने त्यो प्रस्ताव स्वीकारीसकेका छैनन् । कांग्रेस नेता लेखकले ऋणका रूपमा बिआरआई स्वीकार गर्न नसक्ने कांग्रेसको संस्थागत निर्णय रहेको पत्रकारहरूसँग बताएका थिए ।
नेपालले २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । त्यति बेला माओवादी केन्द्र–कांग्रेसको गठबन्धन सरकार थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए ।
ओली बीआरआईमार्फत् आउने परियोजना अनुदान र सहुलियत ऋण दुवै लिएर अघि बढाउनुपर्ने पक्षमा छन् । कांग्रेस ऋण स्वीकार्न नहुने पक्षमा छ । सत्ताधारी दलका नेताहरू बीआरआईमा देखिएका असमझदारी हटाउन निरन्तर छलफलमा छन् ।
चीनले प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २० गतेसम्म भ्रमणका लागि निमन्त्रणा गरेको छ । सरकारले औपचारिक निर्णय नगरे पनि चीनले बोलाएकै मितिमा भ्रमण गर्ने तयारी प्रधानमन्त्रीको छ । तर बिआरआईका सन्दर्भमा सत्तारुढ दल कांग्रेससँग सहमति हुन सकेको छैन ।
कांग्रेस महामन्त्री गगन थापा एमाले र कांग्रेस साझा धारणा बनाएर बीआरआई परियोजनामा अगाडि बढ्ने बताउँछन् । ‘एमालेसँग साझा धारणा बनाएर नै नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत कांग्रेस सकारात्मक छ । तर, बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिन्छ’, थापाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भने ।
प्रतिक्रिया