बीआरआईमा कांग्रेस र एमालेले बनाएको साझा धारणा बोकेर परराष्ट्रमन्त्री चीन यात्रामा

बीआरआईमा कांग्रेस र एमालेले बनाएको साझा धारणा बोकेर परराष्ट्रमन्त्री चीन यात्रामा


काठमाण्डु – चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा सत्तारुढ कांग्रेस र एमालेको साझा धारणा लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा गएकी छिन् ।

बुधबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफलमा बीआरआईबारे साझा धारणा बनाएर अघि बढ्ने सहमति जुटेको थियो । सोही सहमतिलाई सरकारको आधिकारिक धारणा बनाइ लिएर मन्त्री राणा चीन गएकी हुन् ।

प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा दुई दलले बीआरआईमा साझा धारणा बनाएका हुन् । बीआरआईमा राष्ट्रिय सहमतिको आकार दिनुपर्छ भनेर कांग्रेस र एमालेले साझा धारणा बनाएको नेताहरूले बताएका छन् ।

छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र मस्यौदा बनाउन तीन नेतालाई जिम्मेवारी दिइएको छ । एमालेबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री गगन थापालाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेता सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खडका, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा गगन थापासहित सहभागी थिए ।

दुई दलले तयार पारेको साझा धारणाका विषयमा परराष्ट्रमन्त्री राणाले चिनिया समकक्षी वाङ यीसँग औपचारिक कुराकानी गर्नेछिन् । साझा धारणाका विषयमा चीनलाई विश्वासमा लिने नेपालको प्रयास रहने छलफलमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री ओलीकै सक्रियतामा कांग्रेसले उठाउँदै आएका सवाललाई सम्बोधन हुने गरी साझा धारणा बनाइएको नेताहरू बताउँछन् ।

यसका साथै चीन सरकारले दिने सबै योजनालाई ‘बीआरआई फ्रेमवर्क’भित्रै राख्ने र त्यसअन्तर्गत अनुदानका परियोजना मात्रै स्वीकार गर्ने पनि दुवै दलबीच सहमति बनेको छ ।

अर्कोतर्फ प्रधानमन्त्री ओलीले नै अनौपचारिक तहमा चिनियाँ पक्षसँग पनि समानान्तर छलफल गरिरहेका छन् ।

दुई दलबीचको साझा धारणाका आधारमा चिनियाँ पक्षसँग छलफल गरेर सहमति जुटाउने जिम्मा प्रधानमन्त्री ओलीसँगै कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री राणालाई दिइएको छ ।

चिनियाँ पक्षले साझा मस्यौदा मानेमा प्रधानमन्त्री ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणमा दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना छ ।

‘चीनको छेन्दुमा हुने चिनियाँ विदेशमन्त्री यीसँग भेटमा मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा बीआरआईसहित समग्र विषयमा छलफल गर्ने र बीआरआईका सम्बन्धमा सत्ता गठबन्धनभित्र भएको सहमतिका विषयमा जानकारी गराउनुहुनेछ,’ एक नेताले भने ।

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर भए पनि हालसम्म कुनै पनि परियोजना अघि बढ्न सकेको छैन । चीनले सन् २०२० देखि बीआरआईलाई अघि बढाउन कार्यान्वयन सम्झौताका लागि नेपाललाई ताकेता गर्दै आएको छ ।