नेपाल आइपुगे चर्चित क्रिकेटर ब्रायन लारा

नेपाल आइपुगे चर्चित क्रिकेटर ब्रायन लारा


काठमाण्डु-वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा आज काठमाडौँ आइपुगेका छन् ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा आज बिहान काठमाडौँ अवतरण गरेका हुन् । लारा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लारालाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले स्वागत गरेका हुन् ।

गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका दौरान नै लाराले नेपाल आउन इच्छुक भएको बताएका थिए । जहाँ नेपाल पनि सहभागी थियो ।

ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँहाते ब्याटर लाराले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।

टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका उनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए । सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन छ ।

लाराको आगमनले एनपीएलसँगै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न थप मद्दत पुर्‍याउने क्यानको विश्वास छ । उनको कार्यतालिका नखुलाए पनि लाराले त्रिवि मैदानमा एनपीएलका केही खेलहरू हेर्ने र खेलाडीसँग साक्षात्कार गर्ने बुझिएको छ ।