दिग्गज क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

दिग्गज क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै


काठमाडौं-विश्व क्रिकेटका दिग्गज क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार वेस्ट इन्डिजका महान क्रिकेटर लारा आज बिहान नेपाल आउँदैछने ।

क्यानका अनुसार लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ । उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन् । उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए । उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए । उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए ।

सन् १९९० देखि २००७ सम्मको समयलाई लारा युग मानिन्छ । यस अवधिमा उनले थुप्रै कीर्तिमानसँगै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए । उनले वेस्ट इन्डिजबाट १ सय ३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

यस्तै २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकको मद्दतमा १० हजार चार सय पाँच रन बनाएका छन् । टेस्टमा ६० र एकदिवसीयमा ४९ ओभर बलिङ गरेका लाराले एकदिवसीय खेलमा चार विकेट लिएका छन् । उनकै कप्तानीमा सन् २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । जुन सन् १९७९ विश्वकपपछिको ठूलो उपाधि थियो । लारा टेस्ट क्रिकेटको विश्व वरीयतामा ब्याटिङतर्फ लामो समय शीर्षस्थानमा रहेका खेलाडी पनि हुन् । श्रीलंकाका चर्चित क्रिकेटर मुथैया मुरलीधरनले लारालाई विश्वका सबै ब्याटरमध्ये सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहेको बताएका थिए ।

विश्व प्रसिद्ध दिग्गज खेलाडी लाराको आगमनले एनपीएलसँगै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न थप मद्दत पु¥याउने क्यानको विश्वास छ ।