शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक

शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक


काठमाण्डु – ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक भएको छ ।

गीतको रचना ८० वर्षीय सर्जक केशवराज राजभण्डारीले गरेका हुन् । राजभण्डारी पूर्व मुख्य सचिव/पूर्व निर्वाचन आयुक्त तथा पूर्व रक्षा सचिवको रूपमा काम गरिसकेका एक वरिष्ठ पूर्व प्रशासक हुन् । भजन सम्बन्धी उनका केही गीत रेकर्ड भएका छन् भने अध्यात्म सम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

बुद्ध जयन्तीको अवसरमा ल्याइएको गीतलाई संगीतकार राजु सिंहको जादुमय संगीतले जीवन्त तुल्याएको छ भने गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित रहेका छन् । भावमा डुबेर बजाउन सक्ने पण्डितको कलाले गीत उत्तिकै बेजोड बनेको छ । गीतको छायांकन र दृश्य सम्पादन विरेन्द्र भाट विपीनले गरेका छन् ।

गायक योगीले गीतलाई मीठो स्वर मात्रै दिएका छैनन् उनको अभिनय कौशलले सुनमा सुगन्ध थपेको छ ।

शिशिर योगी अफिसियल यूट्युब च्यानलबाट रिलिज भएको गीतले संसारभरका मानव कल्याणका लागि बुद्धको सन्देश प्रवाहित गरेको छ ।

योगीको यूट्युव च्यानलबाट मानिस खोजिरहेछु, कर्णालीपारि, बोल्ने कोही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ’ जस्ता सयौं गीतको रसास्वादन लिन सकिने जनाइएको छ ।

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार शिशिर योगीले गीतकार केशवराज राजभण्डारीको बुद्ध जीवन गीतलाई मीठो स्वर दिएका छन् ।