काठमाण्डु – बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडामा नेकपा एमालेले जितेको छ ।
मेयरमा १४ हजार २५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २ हजार ७३८ छ ।
त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी भइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याइन् ।
नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्रले जितेका छन् ।एमालेले बूढानीलकण्ठ र टोखा नगरपालिका जितेको छ भने राप्रपाले शंखरापुरमा जित निकालेको छ । गणना भइरहेका चन्द्रागिरी, नागार्जुन, गोकर्णेश्वर र कागेश्वरी मनहरामा कांग्रेसको अग्रता छ ।
बुढानिलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र हो । उनको निर्वाचन क्षेत्र ४ मा बुढानिलकण्ठ नगरपालिकाका ८ वडा र काठमाण्डु महानगरपालिकाका ४ वटा वडा पर्दछन् ।
तीमध्ये बुढानिलकण्ठका ८ वटै वडामा एमालेले जितेको छ भने काठमाण्डु महानगरपालिकाको एउटा वडा एमालेले जितेको छ । तीन वटा वडामा गणना जारी छ ।
एमालेले बुढानिलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाण्डुको १ नम्बर वडा जितेको छ । नेकपा एमालेका नेता डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि त्यही हो । यसपटकको निर्वाचनमा उनी आफैँले कमान्ड गरेका थिए ।
प्रतिक्रिया