काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेकाे बस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेकाे बस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु


काठमाडौं- काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार (आज) दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।