गोरखाबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

बसमा कति यात्रु थिए भन्ने एकिन विवरण छैन


काठमाण्डु-गोरखाको लापुबेसीबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको खुलेको छ । लापुबेसीबाट शुक्रबार बिहान ७ बजे काठमाडौंका लागि हिंडेको बस सम्पर्कविहीन भएको हो ।

ना ४ ख२२७० नम्बरको बस शुक्रबार राती १० बजे खानी खोला हुँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नभएको धादिङका डिएसपी रमेश श्रेष्ठले जानकारी दिए ।

उनले शुक्रबार बिहान ८ बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–७ लापुवेशीबाट काठमाडौँका लागि बस छुटको बताए ।

बसमा कति यात्रु थिए भन्ने एकिन विवरण नभएको उनले बताए । अहिले प्रहरी तथा यातायात व्यवसायी मिलेर बसको खोजी गरिरहेका छन् ।

बस, बसका चालक र त्यसमा रहेका यात्रुहरू अहिलेसम्म पनि सम्पर्कमा नआएकोले खोजी गरिदिन वडा अध्यक्ष, यातायात व्यवसायीले आग्रह गरेका छन् । बस, चालक, सहचालक र यात्रुहरू सम्पर्कमा नआएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष नारायण खत्रीले बताए ।

यसबीच बस शुक्रबार दिउँसो १ बजे मुग्लिन आइपुगेको बसमा सवार रहेका मध्ये सूर्य गुरुङले बताए । ‘म मुग्लिन झरेर नारायणगढ तर्फ लागेँ, मसँगै रहेको अर्को दाइ सोही बसमा काठमाडौँ जाँदै थिए । शुक्रबार राती १० बजे फोन गर्दा बस जाममा परेको छ, बाहिर अँध्यारो भएकाले ठाउँमा थाहा छैन भनेका थिए’, उनले भने, ‘त्यसपछि सम्पर्क गर्दा सम्पर्क हुन सकेन, बस काठमाडौँ पनि पुगेको छैन ।’

बसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र यात्रुहरू रहेका थिए । आफन्त गन्तव्यमा नपुगेको थाहा पाएपछि खोजी गरिदिन आग्रह गरेसँगै बस हराएको थाहा हुन आएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष खत्रीले बताए ।

यता, नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन ।

गोरखाबाट काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

झ्याप्ले खोलामै शनिबार दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।