दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने


काठमाण्डु-दशैं, तिहारका लागि असोज १२ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमतिअनुसार असोज १२ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । यस वर्ष घटस्थापना असोज १७ गते परेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय पनि गरेको छ ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक–दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिए ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।