एजेन्सी– भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।
मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो ।
प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भने, “गएराति नादान देहात थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको बस रोकिराखेको ढुङ्गाले भरिएको ‘डम्पर ट्रक’मा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।”
पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जनालाई सतना अस्पतालमा लगिएको छ । दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ ।
उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । भारतमा प्रायः क्षमताभन्दा अत्यधिक भार, कमजोर सडक अवस्था र लापरवाहीपूर्वक हुने ड्राइभिङको कारण घातक सडक दुर्घटनाहरू हुने गर्छन् ।
भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया