बुटवल उपमहानगर : आफ्नो प्रभाव क्षेत्र बचाउन एमाले सफल होला ?

बुटवल उपमहानगर : आफ्नो प्रभाव क्षेत्र बचाउन एमाले सफल होला ?


काठमाण्डु –  बुटवल पछिल्लोपटक एमालेको प्रभाव क्षेत्र मानिन्छ । गत चुनावमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि बुटवलमा एमालेले मेयर, उपमेयरसहित बहुमत सिट जितेको थियो । १९ वडा रहेको बुटवलमा तीन वडाध्यक्ष र चार वडासदस्यबाहेक सबैमा एमाले उम्मेदवार विजयी भएका थिए ।

गत चुनावको परिणाम

०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार दुई सय ४९ मत पाएर मेयरमा निर्वाचित भए । माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेसका खेलराज पाण्डेले २० हजार आठ सय ५१ मत पाए ।

उपमेयरमा पनि एमालेकै गुमादेवी आचार्यले २५ हजार तीन सय एक मत पाएर जितिन् । माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार सात सय ९२ मत मात्रै ल्याए । १६ वडामा एमालेले अध्यक्ष जित्यो भने कांग्रेस तीनवटा अध्यक्षमा सीमित भयो । माओवादीले कुनै पनि पद जित्न सकेन ।

दलीय समीकरण र नतिजाका लागि मुख्य फ्याक्टर

पहिले बुटवलमा कांग्रेस बलियो थियो । तर, पछि ऊ बिस्तारै कमजोर भयो । गणतन्त्र स्थापनापछि भएका सबै निर्वाचनमा बुटवल क्षेत्रमा एमालेले जित निकालेको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा यसपटक पनि एमाले नै बलियो देखिन्छ । सत्तासाझेदार दलबीच तालमेल नभए यो उपमहानगरमा एमालेलाई हराउन लगभग असम्भवजस्तै देखिन्छ । गठबन्धन बन्यो भने तीव्र प्रतिस्पर्धा हुने सम्भावना छ ।

किनकि गत चुनावमा मेयरमा धेरै मतान्तर नभएकाले यसपटक एमाले ढुक्क छैन । बुटवल क्षेत्रमा एमाले विभाजनको प्रभाव पनि परेको छ । यदि सत्तासाझेदार दलबीच गठबन्धन बन्यो भने एकीकृत समाजवादी पनि सहभागी हुने भएकाले एमालेलाई आफ्नै पूर्वसहकर्मीले नै हराउन सक्छन् ।

दलहरूबीच कस्तो समीकरण बन्छ र एकीकृत समाजवादीले कति मत लैजान्छ भन्नेमै बुटवलको चुनाव केन्द्रित छ । गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दासमेत कांग्रेसले मेयर, उपमेयरसहित अधिकांश वडा गुमाएको थियो । तर, यसपटक एमालेमा आएको विभाजन कांग्रेसका लागि फाइदाजनक हुन सक्छ । अहिलेका मेयरले उल्लेखनीय काम गर्न नसकेको फाइदा भने कांग्रेसले उठाउन सक्छ ।

त्यसबाहेक को उम्मेदवार हुन्छ भन्नेले पनि ठूलो अर्थ राख्नेछ । माओवादीलाई उपमेयर र एकीकृत समाजवादीलाई केही वडामा भाग दिएर गठबन्धन बनाउने कांग्रेसको प्रयास देखिन्छ । गठबन्धन हुँदा पनि बुटवलमा एमालेलाई हराउन अन्य दललाई सहज भने हुने छैन । गठबन्धन बनेर तीव्र प्रतिस्पर्धाको अवस्थामा थपिएका मतदाता पनि निर्णायक हुन सक्छन् ।

सम्भावित उम्मेदवार

एमालेबाट अहिलेका मेयर सुवेदीसहित करिब आधा दर्जनले उम्मेदवारीमा दाबी गरेका छन् । अघिल्लोपटक अन्तिमसम्म दाबी गरेर छाडेका गोपाल राना मुख्य दाबेदार हुन् । औषधि व्यवसायीसमेत रहेका बाबुराम भट्टराई, हालकी उपमेयर गुमादेवी आचार्य, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. ईश्वर गौतम, जिफन्ट उपाध्यक्ष कमल गौतम, नेता सूर्यबहादुर भट्टराईलगायतले पनि मेयरमा आकांक्षा राखेका छन् ।

कांग्रेसबाट नगर सभापति एवं अघिल्लो चुनावका प्रत्याशी खेलराज पाण्डे मुख्य दाबेदार छन् । पत्रकारिताबाट राजनीतिमा लागेका हरि लम्साल, व्यवसायी महेशमान श्रेष्ठ, सुरेन्द्र श्रेष्ठलगायतले पनि कांग्रेसबाट मेयरमा आकांक्षा राखेका छन् । माओवादी केन्द्रबाट हरि घिमिरे, निर्दोष अली, मनोज राना, मञ्जु भुसाल, टीका वलीलगायतको चर्चा छ । एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष राजु गुरुङसहित सरिता श्रीस, चिनबहादुर गुरुङलगायत दाबेदार देखिन्छन् ।

मतदाता संख्या

०७४ को निर्वाचनमा बुटवल उपमहानगरमा ६६ हजार ६ सय ६३ मतदाता थिए । तीमध्ये ४५ हजार नौ सय ६१ मत खसेको थियो । यसपटक ९० हजार ६५ पुगेको छ । पाँच वर्षमा बुटवलमा करिब साढे २३ हजार मतदाता थपिएका छन् ।

 

यो पनि पढ्नुहोस …

दलबदलको होड चलिरहेको वीरगन्ज महानगरपालिकामा यसपटक कसले बाजी मार्ला ?

विराटनगर महानगरमा कांग्रेस बलियो, आगामी चुनावमा कसले मार्ला बाजी ?

को बन्ला पोखरा महानगरपालिकाको मेयर ? विगतको परिणाम र भावी नतिजाको विश्लेषण

ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा

भरतपुर महानगरपालिका जहाँ हारजितका यी हुनेछन् मुख्य ‘फ्याक्टर’

काठमाडौं महानगर :आगामी चुनावको विश्लेषण (इन्फोग्राफसहित)