उपनिर्वाचन परिणाम ताजा अपडेट : को कहाँ विजयी

उपनिर्वाचन परिणाम ताजा अपडेट : को कहाँ विजयी


काठमाण्डु- आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म प्राप्त निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ । एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका छन् ।माओवादीका कापरले ६ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३२ वर्षीय अशोक कुमार ६ सय २ मत प्राप्त गरेका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांगे्रसबाट दोस्रोपट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि यहाँ उप–निर्वाचन भएको हो ।

यस्तै, काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।

यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । श्रेष्ठले २९ हजार २ मत ल्याएर निर्वाचित भएकी हुन् । प्रतिद्वन्दी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाएका छन् ।

२०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रो भएको छ । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खडकराज शाही विजयी भएका छन् ।

दैलेखको महाबु गाँउपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए ।

यो पालिकामा यसअघि नेपाली कांग्रेसले जितेको थियो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् ।

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।