काठमाण्डु-दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ ।
यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भइरहेको छ ।
त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ ।
यहाँ दुई हजार २२५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।
त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । यो वडामा चार हजार ९१ मतदाता छन्। उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भइरहेको छ ।
प्रतिक्रिया