काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)को विवाद छताछुल्ल भएको छ । क्यानले खेलाडीहरुले अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ ।
संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ल र उपकप्तान ऐरिसहित मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको हो । मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।
खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल्ल सहित केही सिनियर खेलाडीको गुनासो थियो ।
सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्ल सहित खेलाडीमाथि कारबाही गरेको हो ।
क्यान र खेलाडीबीचको विवाद के हो ?
क्यानले खेलाडीहरुलाई कारबाही गरेपछि थप रहस्य बाहिर आएको छ । राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरणमा खेलाडीहरुले असन्तुष्टी जनाएपछि क्यान कारबाही गर्ने निर्णय पुगेको हो । खेलाडीहरूको वर्गीकरण गरेर क्यानले त्यसलाई सार्वजनिक गर्नुपर्नेमा खेलाडीहरूलाई एक्लाएक्लै बोलाउँदै सम्झौतामा हस्ताक्षर गराएको थियो । त्यतिबेला वर्गीकरण देखेकाले त्यसमा चित्त बुझाएनन् ।
तीमध्ये चार जनाले सार्वजनिक रूपमा त्यसप्रति असन्तुष्टि प्रकट गरे । क्यान अधिकारीहरूले सम्झौताभित्र रहेका खेलाडीले सङ्घको कुरा सार्वजनिक गर्दा त्यो खेलाडी र क्यानकै लागि अनुपयुक्त भएको बताए । चार खेलाडीलाई सोधिएको स्पष्टीकरणको संयुक्त उत्तरमा उनीहरूले क्यानविरुद्ध ११ बुँदे मागपत्र पेस गरेपछि विषयले थप चर्को रूप लिएको हो ।
दुई पटक सोधिएको स्पष्टीकरणमा खेलाडीहरूले विरोध जनाएको भन्दै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यही समितिले बुझाएको प्रतिवेदनको आधारमा भन्दै बैठकले खेलाडीहरूविरुद्ध अनुशासनको कारबाही गरेको हो ।
६जना बोर्ड सदस्यको ‘नोट अफ डिसेन्ट’
बुधबारको भर्चुअल बैठकमा सहभागि ६जना बोर्ड सदस्यले खेलाडीलाई कारबाही गर्ने कार्यमा असहमति जनाएका छन् । केन्द्रिय सदस्य छुम्बी लामा, करण महतरा क्षेत्री, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम र अमित वीर पाण्डेले नोट अफ डिसेन्ट जनाएका हुन् ।
‘खेलाडीले नराम्रो बोले जस्तो हामीलाई लाग्दैन । ग्रेडमा आफू अपमान भएको कुरा कुनै मिडियामा बोलेको हो त्यो त क्यानको विरुद्ध बोले जस्तो लाग्दैन । हामीले सोच्दै नसोचेको कारबाही उहाँहरुले ल्याउनुभयो ’, एक सदस्यले भने ।
यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको सबैभन्दा ठूलो सम्पति अनुशासन भएको बताउँदै खेलाडीहरु सचेत हुनुपर्ने बताए ।
‘अनुशासन खेलाडीको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसबाट विचलित हुन थाल्यो भने प्रदर्शन नै प्रभावित हुन्छ । यो विषयमा खेलाडीहरू स्पष्ट हुन जरुरी छ,’ उनले भने । क्यानमा १७ जना बोर्ड सदस्य रहेकोमा हिजोको वैठकमा १५ जना उपस्थित थिए ।
जुनियरलाई कप्तान स्वीकार्न सकस
क्यानले अकास्मात रुपमा आफूहरुभन्दा जुनियर खेलाडीलाई कप्तान घोषणा गरेपछि असन्तुष्टी तिव्र देखिएको छ । क्यानको निर्णयपछि खेलाडीहरु सन्दीपलाई कप्तान मान्न तयार देखिँदैनन् । पूर्वकप्तान पारस खड्कालेसमेत लामिछानेलाई कप्तान स्वीकार नगर्ने संकेत गरेका छन् ।
उनीभन्दा सिनियर खेलाडीहरु टिममा रहेकाले जुनियलाई कप्तान स्वीकार नगर्ने संकेत गरेका छन् । स्रोतकाअनुसार सन्दीपभन्दा अगाडिका खेलाडीहरु टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारी, सोमपाल कामीजस्ता अनुभवी खेलाडीहरु रहेकाले सन्दीपलाई कप्तान स्वीकार गर्न कठिन देखिएको हो ।
लामिछाने कप्तान नियुक्त भएपछि त्यसको असर सामाजिक सञ्जालहरुमा देखा परेको छ । सन्दीपलाई इन्स्टामा पारससहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले अनफलो गरेका छन् । सन्दिपले भने उनीहरुलाई फलो गरेका छन् ।
क्यान स्रोतले भन्यो, ‘खेलाडीहरुबीच टिममा आफूभन्दा जुनियरलाई कप्तान स्वीकार गर्न समस्या देखिएको छ । अब चाँडै यो समस्या हल हुन्छ ।’
प्रतिक्रिया