बजेट पारित भएलगत्तै सरकारमा हेरफेर ! यी मन्त्रीको बिदाइ, कसले पाउँदैछन् नयाँ नियुक्ति ?

बजेट पारित भएलगत्तै सरकारमा हेरफेर ! यी मन्त्रीको बिदाइ, कसले पाउँदैछन् नयाँ नियुक्ति ?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएलगत्तै मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी गरेका छन् ।

उनले केही महिनायता मन्त्री हेरफेरको प्रयास गरे पनि अब बजेट पारित भएलगत्तै मूर्त रूप दिन लागेका छन् । मन्त्री हेरफेरबारे प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेसँग पनि छलफल गरिरहेका छन् ।

उच्च स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रीबाट बिदा गर्ने तयारी छ । यी तीनै मन्त्रीले सरकारमा १ वर्ष पूरा गरिसकेका छन् । माओवादीले नेपाली कांग्रेससँग गठबन्धन सरकार बनाउँदा पनि यी तीनै जना मन्त्री रहेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको मन्त्रालय सार्ने वा बिदा दिनेबारे माओवादीभित्र छलफल जारी छ ।

माओवादीले सिन्धुपाल्चोकका माधव सापकोटालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउने तयारी गरेको छ । सिन्धुलीका राजन दाहाल र कालिकोटका महेन्द्रबहादुर शाही पनि मन्त्री बन्ने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् हेरफेरका क्रममा नेकपा एमाले र माओवादी केन्द्रको भागमा परेका १/१ मन्त्रालय खाली गराएर नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ र जनमत पार्टीका सीके रावतलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

एमालेबाट कुन मन्त्री हटाउने र कुन मन्त्रालय खाली गर्ने भनेर यकिन नभएको स्रोतले जनाएको छ । मन्त्रीहरूको कामकारवाही सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा हेरफेरको संकेत गर्दै आएका छन् ।