मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीको चासो

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा प्रधानमन्त्री ओलीको चासो


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने विषयमा बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानन्त्री ओलीले त्रिविका उपकूलपति प्रा.डा. केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका छन् ।

उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि ३०० दिनको समय सीमा निर्धारण गरिएको छ ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गरेका थिए ।