अध्यादेश ल्याउन कांग्रेसले सहमति नदिएपछि मन्त्रिपरिषद् बैठक स्थगित

अध्यादेश ल्याउन कांग्रेसले सहमति नदिएपछि मन्त्रिपरिषद् बैठक स्थगित


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सहमति नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् ।

सोमबार (आज) साँझ सवा ५ बजेका लागि तय भएको बैठक अध्यादेशमा कुरा नमिलेपछि स्थगित गरिएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिए पनि अर्को बैठक कहिले बस्छ भन्नेबारे कुनै जानकारी नगराएको एक मन्त्रीले बताए ।

ओलीले अध्यादेशको मस्यौदा तयारी अवस्थामा राखेर कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग ल्याउने सहमति जुटाउन प्रयास गरेका थिए ।

आइतबार साँझ बसेको देउवासँगको बैठकमा सहमति नभएपछि सोमबार बिहानभर पनि ओलीले कांग्रेसलाई मनाउने प्रयास गरेका थिए । तर, कांग्रेसले समर्थन नजनाएपछि मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

ओलीले दलहरू फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी अघि बढाएका थिए । विशेषगरी नेकपा (एकीकृत समाजवादी) पार्टी फुटाएर एउटा समूहलाई एमालेमा विलय गराउने ओलीको तयारी थियो । उनको त्यो प्रयासमा नेपाली कांग्रेस बाधक बनेको हो ।