मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक (सूचीसहित)


काठमाण्डु – सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने जानकारी दिए ।

बैठकले महान्यायाधिवक्ता कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिएको छ । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रहरी अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।