जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न दुईजना पक्राउ

जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न दुईजना पक्राउ


कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।

चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् । क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न निकै टेवा पुगेको निकुञ्जका कावा मुख्य संरक्षण अधिकृतगोपाल घिमिरेले बताए ।

“दुई साताअघि मात्रै निकुञ्जको बागफाँटा नजीकको लगरघाट नजीक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका–१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेका छौँ”, उनले भने, “क्यामेरामा दुवैले लगुना मारेर फकँदै गरेको अवस्थामा देखिएपछि पक्राउ परेका छन् ।

राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गर्न सक्यौँ ।” हाल दुवै निकुञ्जको हिरासतमा छन् । क्यामेरा राखिएपछि निकुञ्ज संरक्षण गर्न निकै सहज भएको अधिकृत घिमिरेको भनाइ छ ।