काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले क्यानेडेली क्रिकेटर साद बिन जफरलाई अनुबन्धित गरेको छ ।
गएको टी२० विश्वकपमा जफरले क्यानडाको कप्तानी गरेका थिए । लुम्बिनी लायन्सले लामो समयदेखि क्यानडाबाट खेल्दै आएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्वक्षमतासहित थप मजबुत बनाउने आशा गरेको छ । पाकिस्तानमा जन्मिएका उनको क्रिकेट करियर क्यानडामा बितेको छ ।
सन् २००८ मा उनले क्यानडाको फस्र्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । जफरले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङका कारण उनले मैदानमा आफ्नो प्रभाव छाड्ने गरेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि सेन्ट लुसिया जोक्सबाट खेलेका छन् ।
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनको नाममा कीर्तिमान पनि छ । चार ओभरको बलिङमा एक रन पनि नदिई उनले कीर्तिमान बनाएका हुन् । सन् २०२१ को नोभेम्बरमा पानामाविरुद्ध उनले चार ओभरमा दुई विकेट लिएका थिए । यस क्रममा उनले एक रन पनि दिएनन्, जुन उपलब्धि अहिलेसम्म अपराजित छ ।
उनले एनपिएलका लागि लुम्बिनी लायन्समा आबद्ध हुन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनीको मार्की खेलाडी हुन् । लुम्बिनीले पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग खेल्नेछ ।
प्रतिक्रिया