वर्षातकाे समयमा ३ पहाडी जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

वर्षातकाे समयमा ३ पहाडी जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन


काठमाण्डु – बाढी र पहिरोको प्रकोप देखिने तीन जिल्ला २० दिनदेखि प्रमुख जिल्ला अधिकारीवीहिन छन् । ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक ५९ सहसचिवको सरुवा गर्दा तीन जिल्ला सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा भएका थिए ।

सिन्धुपाल्चोकका प्रजिअ भुपेन्द्र थापाको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सिन्धुलीका प्रजिअ भरत खनालको परराष्ट्र मन्त्रालयमा र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको थियो ।

तीनै जिल्ला पहाडी र बाढी पहिरोको जोखिम भएका जिल्ला भए पनि २० दिनसम्म गृहमन्त्री रमेश लेखकले नयाँ प्रमुख जिल्ला अधिकारी पठाउन सकेका छैनन् । अहिलेसम्म कहिले र कसलाई पठाउने भन्ने पनि टुंगो नरहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

निकटस्थ स्रोतका अनुसार अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समयावधि सकिएको छ । त्यसमा काठमाण्डु, रुपन्देहीसहितका ठूला जिल्लाहरू छन् । सत्तामा रहेका दलहरूबीच भागबण्डा र मोलमोलाइ नमिलेको र हिसावकिताव मिलाउन पनि कुनै सहसचिव तयार नरहेकाले नयाँ प्रमुख जिल्ला अधिकारीहरू पठाउन ढिलाइ भएको स्रोत बताउँछ ।

अहिले गृह मन्त्रालयसमेत सचिव वीहिन छ । गृहसचिव अघिल्लो बिहीबार मुख्यसचिवमा नियुक्त भएपछि मन्त्रालय सचिववीहिन भएको हो । सचिवका लागि कृष्णहरि पुस्कर, विनोदप्रकाश सिंह, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्ले प्रतिष्पर्धामा छन् ।

काठमाण्डुमा प्रमुख जिल्ला अधिकारी बनेर जानका लागि सहसचिवहरू जयनारायण आचार्य, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, तिर्थराज भट्टराईलगायत लागिरहेका छन् ।