नवलपरासी – नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–१ र देवचुली नगरपालिका– ९ जोड्ने गरी निर्माण भइरहेको पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ । निर्माणधीन लोकाहाको भोटीखोला पुलका लागि ल्याइएको सिमेन्ट वडाध्यक्षको संलग्नतामा चोरी भएको स्थानीयको आरोप छ । पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका–१ का अध्यक्ष नारायण पन्तकोे संलग्नतामा निर्माणस्थलमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले चोरेको स्थानीयको आरोप छ । सिमेन्ट चोरी भएपछि पुल निर्माण प्रभावित भएको छ ।
चोरीका विषयमा छलफल गर्न बोलाइएको भेलामा सहभागी स्थानीय
पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडाध्यक्षको मिलेमतोमा ११ चैत राति सिमेन्ट चोरी भएको हो । निर्माण स्थलमा सामग्रीको सुरक्षाका लागि बसेका व्यक्तिलाई स्टोरको ताल्चा खोल्न लगाई सिमेन्ट चोरी गरेको स्थानीयले जनाएका छन् । राति १२ बजेतिर वडाध्यक्ष नारायण पन्तले स्टोरको ताल्चा खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
भोटीखोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुसालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी पुल निर्माण स्थलमा पुगी सिमेन्ट निकालेको स्वीकार गरेका छन् । सिमेन्ट चोरी भएको थाहा पाएपछि कावासोती–१ र देवचुली–९ का उपभोक्तासहित सरोकारवालाको शुक्रबार भेला डाकिएको थियो । भेलामा वडाध्यक्षले नियतबस सिमन्ट चोरी गरी बेच्न खोजेको स्थानीयले आरोप लगाएकाे खबर नयाँ पत्रिका दैनिकमा छ ।
चोरी गरेको सिमेन्ट स्थानीय कमल भुसालको घरमा फेला परेको छ । सिमेन्ट वडाध्यक्ष पन्तकै वडास्थित रिठ्ठेपानीमा निर्माण हुन लागेको बाटोमा प्रयोगका लागि लगेको भुसालले बताए । भुसाल बाटो निर्माण समितिका कोषाध्यक्ष हुन् भने वडाध्यक्ष पन्त पुल निर्माण समितिका सचिव हुन् । भुसालले भने ९ सय २० रुपैयाँ पर्ने सिमेन्ट ८ सयमा पाएपछि किनेको बताएका छन् ।
सुपरभाइजरले फसाए : वडाध्यक्ष
वडाध्यक्ष नारायण पन्तले भने भूलवश सुपरभाइजरको विश्वासमा परी राति सिमेन्ट निकालेको स्वीकारेका छन् । उनले सुपरभाइजरले फसाएको दाबी गरेका छन् । सुपरभाइजर गोपाल थापा भने फरार छन् । फरार थापालाई पक्राउ नगरेसम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्त बताउँछन् ।
सो पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माण ठेक्का लिइएको हो । कम्पनीले करिब ४ करोड २५ लाखमा पुल निर्माणको जिम्मा लिएको थियो । पुल २५ मिटर लम्बाइको हुने जनाइएको छ । निर्माण कम्पनीका प्रमुख कुमार आचार्यले राज्यको दायित्व निर्वाह गर्न लाग्दा सामानको सुरक्षासमेत नभएकाले निर्माण सुचारु गर्न समस्या परेको बताए । उनले चोरी भएको सामान र जरिवानासहित कानुनी कारबाहीका लागि लाग्ने बताए । सोहीअनुरूप जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको आचार्यले बताए ।
प्रतिक्रिया