दीगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता

दीगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीबीच दीगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाण्डुको जमलस्थित चेम्बर भवनमा सोमबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र यूएनडीपीका कार्यबाहक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन एंव यूनडीपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्ने गरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिबद्धता जनाइएको छ ।

चेम्बर अफ कमर्स र यूएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्वयनमा आउनेछ । राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्त्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।

यूएनडीपीका कार्यबाहक आवासीय प्रतिनिधि चेभिलार्डले दीगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरू पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्त्वपूर्ण भएको उनले बताए । निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताए । नेपालको हिमालहरूलाई जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।